नेसनल प्याब्सन कास्कीद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

.

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले आइतबारको सार्वजनिक बिदालाई सिर्जनशील बनाउँदै शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका–२७, रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जना शिक्षक सहभागी भएका थिए।

कार्यक्रम बिहान र दिउँसो गरी दुई चरणमा सञ्चालन गरिएको थियो।नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाका अनुसार कास्कीका सदस्य विद्यालयहरूमा शैक्षिक सत्र २०८३ मा अध्यापन गराइरहेका शिक्षकहरूलाई लक्षित गर्दै प्रश्नपत्र निर्माण तथा निरन्तर मूल्याङ्कन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सहजीकरण गर्दै सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन प्रश्नपत्र निर्माण गर्दा शिक्षकहरूले ज्ञान, बोध तथा उच्च दक्षताजस्ता पक्षमा विशेष ध्यान दिनुपर्ने बताए।

त्यसैगरी, निरन्तर मूल्याङ्कन सम्बन्धी सत्रमा सहजकर्ता प्रेमनारायण पोखरेलले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सह–कोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट तथा गण्डकी प्रदेश उपाध्यक्ष चेतनाथ भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहभागी शिक्षकहरूले पनि कार्यक्रमप्रति आफ्ना प्रतिक्रिया राखेका थिए।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए।