काठमाडौं । नारायणटारस्थित त्रिकोण पब्लिक सेकेन्डरी स्कुलमा आयोजित निःशुल्क आँखा शिविरमार्फत ३५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको आयोजनामा तथा नेसनल ओपन स्काउट क्र्यू मूलपानी, काठमाडौं र त्रिकोण स्काउट ट्रप, नारायणटारको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।
आँखा शिविरमा स्थानीय बासिन्दाहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामीहरू पहिचान गरिनुका साथै आवश्यक परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
शिविरबाट छानिएका मोतियाविन्दुका बिरामीमध्ये १४ जनाको तिलगंगा आँखा प्रतिष्ठानमार्फत निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिइएको छ । शिविरबाट आर्थिक अवस्था कमजोर भएका तथा उपचारमा पहुँच कम भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।