काठमाडौं – युरोपेली मुलुक जर्मनीमा ट्राफिक जाँच गर्ने क्रममा दुईजना प्रहरी अधिकृतको गोली हत्या गरिएको छ । सोमबार बिहान पश्चिमी क्षेत्रस्थित राइनल्याण्ड–प्यालाटिनेट राज्यको कुसेलमा ट्राफिक जाँच गर्ने क्रममा दुईजना प्रहरी अधिकृतमाथि गोली प्रहार भएको बीबीसीले जनाएको हो ।
एक सवारी साधन रोकेलगत्तै प्रहरी अधिकृतमाथि गोली प्रहार भएको हो । गोली लागेर २९ वर्षीय पुरुष र २४ वर्षीया महिला अधिकृतको मृत्यु भएको समाचारमा उल्लेख छ । गोली लागेर ज्यान गुमाएकी महिला अधिकृत प्रहरी एकेडेमीकी प्रशिक्षार्थीसमेत हुन् । हाल गोली चलाएर भागेका आक्रमणकारीको खोजी कार्य जारी छ ।
घटनास्थल वरपरका सडक बन्द गरेर आक्रमणकारीको खोजी कार्य भइरहेको छ । प्रहरीका अनुसार कम्तीमा एकजना संदिग्धसँग हतियार रहेको छ । तर, घटनासम्बन्धी बाहिर आएका केही विवरण प्रस्ट छैनन् । जर्मनीको समाचार माध्यम बिल्डले सडकबाटै मृतक प्रहरी अधिकृतले दुईवटा रेडियो सन्देश पठाएका थिए ।
पहिलो सन्देशमा उनीहरूले एउटा शंकास्पद सवारी साधन रोकेको बताएका थिए । लगत्तैको दोस्रो सन्देशमा उनीहरूले आफूमाथि गोली चलेको बताएका थिए । दोस्रो सन्देशलगत्तै सञ्चार अवरुद्ध भएको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी आइपुग्दा महिला प्रहरी अधिकृतको मृत्यु भइसकेको थियो भने पुरुष अधिकृतको केही समयपछि मृत्यु भएको समाचारमा उल्लेख छ ।