पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य आवश्यक छ :प्रधानमन्त्री प्रचण्ड

.

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य हुन आवश्यक बताएका छन् ।

 

सोमबार नेपाल रिपब्लिक मिडियाको १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पत्रकारिता र राजनीतिक क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले सतर्कता अपनाउन जरुरी भएको बताए ।
उनले भने, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’

 

उनले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको बताए ।सञ्चार माध्यम राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उनको भनाइ छ ।