सेवानिवृत्त शिक्षकका लागि पुस्तकालय खोल्छौँ – शिक्षामन्त्री पौडेल   

.

बलेवा, २० पुस (रासस) :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेवानिवृत्त शिक्षकका लागि पुस्तकालयको स्थापना गरी त्यसको व्यवस्थापन गर्ने बताउनुभएको छ । बागलुङको बलेवामा रहेको गणेश माविको आज ४१ औँ वार्षिकोत्सव मूल समारोहमा मन्त्री पौडेलले निरन्तर सेवामा रहेका शिक्षकको समय सेवानिवृत्तपश्चात् कठिनाइ हुने हुँदा त्यसको व्यवस्थापनका निम्ति पुस्तकालय आवश्यक रहेको बताउनुभयो ।

 

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नोतर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । उहाँले आफ्नो गृहजिल्ला बागलुङ र बलेवा क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा रहेको गणेश माविको अझै सफलताको कामना व्यक्त गर्नुभयो ।

 

वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएका पैयुँपाटाका चूडामणि शर्मा पौडेल, अमलाचौरका ईश्वरीप्रसाद शर्मा ढकाल र नारायणस्थानका कृष्णबहादुर खत्रीलाई सम्मान गरिएको छ । त्यसैगरी विद्यालयका शिक्षक प्रदीप भण्डारी, सावित्रा शर्मा, पवित्रा पौडेल, पार्वती श्रेष्ठ र सेवानिवृत्त शिक्षक मोहराज शर्मा, प्रेमप्रसाद रेग्मी, चूडामणि सुवेदी र छत्रनाथ शर्मालाई सम्मान गरिएको विद्यालयका प्रधानध्यापक एकनाथ रिजालले जानकारी दिनुभयो ।

 

विद्यालयले विभिन्न कालखण्डमा विद्यालयको भौतिक विकासका साथै भवन निर्माणका लागि संयोजक भएर जिम्मेवारी लिएका सुवेदार हरिबहादुर खत्री, कविराज बस्ने, लक्ष्मीनारायण श्रेष्ठ र स्वगेन्द्रबहादुर खत्रीलाई सम्मान गरेको थियो । विद्यालयमा हाल ८१५ विद्यार्थी अध्यनरत रहेका छन् । वार्षिकोत्सवको अवसरमा विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
–––