काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताएका छन्। राजधानीमा बुधवार एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन नटुट्ने बताएका हुन्।
पत्रपत्रिकामा आएका गठबन्धन टुट्ने भन्ने खालका कुराहरुमा सत्यता नभएको भन्दै नेपालले भने, ‘पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिन दिन पत्रिका हेर्नु भएको होला, विभिन्न कुरा आइरहेका छन्, त्यसमा कुनै सत्यता छैन। गठबन्धन टुट्ने बाला छैन। कसैले टुटाउन खोज्ने वाला छैन।’
गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने भन्ने कुरामा सबैले प्रतिवद्धता व्यक्त गरेको बताए। आज मात्रै माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच छलफल भएको र गठबन्धन बलियो बनाउने कुरामा छलफल भएको उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल भएको नेता नेपालले बताए।