काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।
विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास नभएको खण्डमा काँग्रेसले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव गरे एमाले सहयोग गर्न तयार रहेको बताएका हुन् । संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन पनि सभामुखलाई हटाउँदा राम्रो हुने उनको भनाई छ ।
‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’ उनले भने । सभामुख सापकोटा विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको उनको आरोप छ ।
सचिव रायमाझीले आफ्नाे पार्टीले भने एमसीसीबारे धारणा नबनाएको स्पष्ट पारे। एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै उनले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमतसहित विजय हाँसिल गर्ने दाबीसमेत गरे।