धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछौ–मन्त्री ज्वाला

.
काठमाडौं -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्यूजियम बनाउने भएको छ । वि.स १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गाे रेल सञ्चालन गरेको थियो ।
नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । ‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन् । ति रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भन्नुभयो ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ ।’ यसै बर्ष काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिनुभएको छ । केही समयअघि मन्त्री ज्वालाले म्यूजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गर्नुभएको थियो । भ्रमणलगतै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गर्नुभएको थियो ।
छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताउनुभयो । ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ । मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताउनुभयो ।