मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

.

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताउनुभएको छ । बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताउनुभएको हो । उहाँले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिनुभयो । उहाँले सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताउनु भयो । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडी बढाउने स्पष्ट पार्नुभयो ।

उहाँले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि बताउनु भयो ।