संविधान सभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन

.

संविधान सभा अध्यक्ष एवं पूर्वसभामुख तथा नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको सोमवार राति हृदयघात भइ निधन भएको हो । सोमवार राति १ बजे बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पु¥याउनुअघि नै नेम्वाङको निधन भइसकेको बताइएको छ । हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज एमाले पार्टी कार्यालय च्यासलमा राखिने बताइएको छ । उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।
नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।