प्रधानमन्त्री पुष्पकमल दाहालले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराउनु भयो । उहाँले शिर्ष राजनीतिक दलहरुबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो ।
उहाँले भन्नुभयो, ‘अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराउनु भयो । उहाँले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसैगरी नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेको जानकारी गराउँछु । यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’
प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउनु भयो । उहाँले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा निम्न तथ्य यस सम्बन्धित सदनमा समक्ष राख्नुपर्छ । घटना सार्वजनिक भए लगत्तै कान्ति बाल अस्पतालबाट ५ दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकोमा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुपर्ने हो त्यो गर्न नसकेको तीतो यथार्थले सधैँ झक्झक्याउने महशुस गर्दै अस्पतालले विगतदेखि गरेका तर तत्काल सुधारका बाटोहरुलाई कार्यान्वयन गर्न नसकेकाले विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निस्कर्ष पेस गरेको छ । प्रतिवेदनले अस्पतालले आफ्नो तहबाट गर्न सकिने सुधारको थालनी तत् समयबाट गरिसकेको छ भने अझै गर्नुपर्ने सुधारका निम्ति आफ्नो पहलकदमीले मात्रै सम्पादन हुन नसक्नेका लागि तालुक निकायको समेत सहयोगको अपेक्षा गरेको उल्लेख छ । सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास सदनसमक्ष दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास व्यक्त गर्नुभयो ।
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री