दुई/चार दिन भित्रै चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँछः उद्योगसचिव मरासिनी

.

सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २÷४ दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल संचालनमा ल्याउन लागिएको बताउनुभएको हो । आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले  सो पसल खोल्ने निर्णय भइसकेको जानकारी समेत दिनुभयो । असोज १ गतेदेखि नै सो पसल संचालनमा ल्याउने निर्णय भएपनि आयात सम्बन्धि अन्य विषयका कारण केही ढिलाई हुन जाने देखिएको पनि सचिव मरासिनीले बताउनु भयो । उहाँले खुला बजार भएका कारण आम उपभोक्ताहरुले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, हामी २÷४ दिन भित्रै गर्छौं । खासमा चाहीँ असोज १ गतेदेखि नै गर्ने भनेका छौं । यसमा हाम्रो डिसिजन भइसकेको छ । हामीले दशैं बजार लक्षित चाहीँ पसल खोल्छौं । त्यो खोलिसकेपछि पनि मूल्य वृद्धिलाई त्यसले पनि काउन्टर दिन्छ । कतिपय अवस्थामा यो इम्पोटरहरुले भारत बाहेक देशहरुबाट पनि बस्तुहरु आयात गर्न सक्छन् । राष्ट्र बैंकसँग अनुमति लिएर यो काम हुन्छ ।

सचिव मरासिनीले कालो बजारी हुन नदिनका लागि सरकारले अनुगमनको कामलाई तिब्रता दिने र दोषी भेटिए कारबाही गर्ने पनि बताउनु भयो । उपभोक्ता सचेत भए मूल्यवृद्धिमा मारमा पर्ने अवस्था नरहेको पनि उहाँले बताउनु भयो ।