चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द

.

हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् । चिकित्सक संघको आह्वानमा आईतवार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशमा कानूनी राज्य हुनुपर्ने बताए । आन्दोलनका क्रममा बोल्दै डा. शेषराज घिमिरेले बिरामी बचाउनेहरुमाथि कुटपिट गर्दा सरकार मुकदर्शक बनेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा कानूनी राज्य हुनुपर्छ । कानूनले काम गर्नुपछ, कानून लागू गर्नुपर्छ । हामी बिरामी बचाउन जान्छौँ तर हामीमाथि कुटपिट हुन्छ । त्यसरी त्रस्त भएर कसरी काम गर्नु । राज्य टुलुटुलु हरेर बस्छ, आक्रमण गर्ने मानिस खुलेआम हिँड्छ । हामी काम गर्न नसक्ने भएर आन्दोलनमा उत्रिएका हौँ ।’

हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको बिरोधमा संघका आह्वानमा आईतवार अस्पताल बन्द गरिएको हो ।