प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

.

विराटनगर – प्रदेश १ का ८ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री राजेन्द्र राईले आफू नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनाएका थिए। थप ८ जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुर्‍याएका हुन्। उनको मन्त्रीमण्डलमा १३ मन्त्री र एक राज्यमन्त्री छन्।

 

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना मन्त्री थप गरेका हुन्। प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन्। थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङमाङले भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

 

नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन्। राईले सामाजिक विकास मन्त्री बनेका छन्। हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन्। लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन्। घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

 

नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्री बनेका छन्। राईले खानेपानी सिँचाई, तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन्।

 

जयराम यादवलाई स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहने छन्। प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको भन्दै बिरोध भइरहेको छ।