गाजामा इजरायली सैन्य वृद्धिबारे इजिप्ट र कतारी नेताहरूबीच छलफल

.

इजिप्ट र कतारी नेताहरूले गाजामा इजरायली सैन्य वृद्धिबारे छलफल गरेका छन् ।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले शुक्रवार गाजा पट्टीमा इजरायली सैन्य वृद्धि र त्यसको क्षेत्रीय नतिजाबारे छलफल गरेका हुन् । बैठकमा दुवै पक्षले गाजामा निर्दोष नागरिकको सुरक्षा र रक्तपात रोक्ने उपायहरूबारे छलफल गरेका थिए । उनीहरूले युद्धविराम हासिल गर्ने र गाजामा प्यालेस्टिनी जनताको आवश्यकता पूरा गर्ने मानवीय सहायताको वितरणलाई निरन्तरता दिने उद्देश्यका लागि गरिएका गहन प्रयासहरूको समीक्षा गरेका छन् । प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को उच्चस्तरीय प्रतिनिधिमण्डल इजिप्टका नेताहरूसँग गाजा पट्टीको अवस्थाबारे छलफल गर्न इजिप्टको राजधानी आइपुगेको एक दिनपछि कतारी अमिरको भ्रमण भएको हो । हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हनियाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसका प्रमुख अब्बास कामेलसँग भेट गर्नुभयो । कतारले हमास र इजरायली अधिकारीहरूसँग सम्भावित बन्दी आदानप्रदान सम्झौतासहित मध्यस्थता वार्तामा संलग्न भएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।