काठमाडौं – चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि १३६ रनको लक्ष्य दिएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले क्रमश: ४ र १४ रन जोडे । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट भए । आरिफ शेखले २५ रन जोडे । शरद भेस्वाकर ४ रन बनाउँदै नट आउट रहे ।
ओमानका लागि कलीमुल्लाहले दुई विकेट लिँदा खवर अलीको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसूदले नटआउट रहँदै ४३ रन जोडे ।
ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ११ र १३ रनको योगदान गरे । यस्तै, शोएब खान र आयन खानले समान ११/११ रन जोडे । मोहम्मद नदीमले ३१ रन बनाउँदा खुराम नवाज ६ रनमा नट आउट रहे । नसिम खुशी शून्य रनमै आउट भए ।
नेपालका लागि अभिनाश बोहराले तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले समान एक/एक विकेट लिए ।