मधेस प्रदेशले अगामी ३ वर्षभित्र प्रत्येक पालिकामा सिंचाई सुविधा पुग्नेगरी विद्युतीकरण गर्ने

.

मधेस प्रदेश सरकारले अगामी ३ वर्षभित्र प्रदेश भित्रका प्रत्येक पालिकामा सिंचाई सुविधा पुग्नेगरी विद्युतीकरणको कार्यलाई तिब्रता दिएको बताएको छ ।

बुधवार मधेस प्रदेश सरकारले एक वर्षका उपलब्धि सार्वजनिक गर्दै यस्तो बताएको हो । दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरु पुनःउत्थान तथा जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम अगाडी बढाउने पनि बताएको छ । एक वर्षे उपलब्धि सार्वजनिक गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले मधेसको लाइफलाइनको रुपमा रहेका चुरे संरक्षणलाई व्यवस्थापन गर्नको लागि चुरे संरक्षण कार्यक्रम प्रदेशको गौरव योजनाको रुपमा अगाडी बढाइने बताउनु भयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप बिस्तार गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना र सञ्चालन गर्ने बताउनु भयो । प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकतामा राखि प्रदेशका ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कम्तिमा ५ कि.मी सडक निर्माणका दरले कुल ३२० कि.मी. पक्की सडक निर्माण कार्य गरिरहेको बताउनु भयो । एक वर्षमा प्रदेशले विभिन्न स्थानहरुमा ८ वटा पुल निर्माण सम्पन्न गरेको, २८ वटा पुल निर्माणाधीन अवस्थामा रहेको बताउनु भयो ।

मुख्यमन्त्री यादवसले प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा सडक स्तरोन्नति, वृहत मर्मत, र नियमित मर्मत सम्भार कार्य सञ्चालनका लागि तयारी भइसकेको बताउनु भयो ।