मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले हुने खानेले मात्रै अवसर पाउने खालको अवस्था अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन् । अध्यक्ष दत्तले मधेसमा नक्कली अभिभावक खडा गरेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने गलत अभ्यासको अन्त्य गर्न पनि सरकारलाई सचेत गराउनु भयो । आईतवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले तराई–मधेसमा विद्यालय व्यवस्थापन समितिको चुनावमा मान्छे मार्नेसम्मको हर्कत हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन दिन नहुने बताउनु भयो । उहाँले पछाडि परेका समुदायलाई माथि उठाउने खालको शैक्षिक नीति मुलुकका आवश्यक भएको बताउनु भयो । अध्यक्ष दत्तले मुलुकमा विद्यमान शैक्षिक नीति इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।
उहाँले भन्नुभयो, ‘भाषाको व्यवस्था गरिएको रहेछ । मातृभाषाको कुरा एकदम राम्रो छ । यसमा संस्कृत राखिएको छ । त्यो एकदम राम्रो कुरा हो । किनभने हाम्रो मुल भाषा संस्कृत नै हो । वर्गको कुरा पनि जाती भित्र गरौं । किनकी त्यो पछाडी परेका जुन समुदाय छन् । हुनेखानेले मात्रै सधैँ पाउने हो भने यस्तै अवस्थामा हो भने पाँच सय वर्षमा पनि पछाडि परेकाहरुलाई अगाडी ल्याउन सकिँदैन होला यसै गरेर त । यी गम्भिर कुरा हो । त्यसकारण यी कुराहरुमा विशेष ध्यान दिनुप¥यो । अर्को कुरा व्यवस्थापन समितिको कुरा मैले यसमा हेरेँ । तराई मधेसमा व्यवस्थापन समितिको चुनाव हुँदाखेरी इलेक्शन जस्तै हुन्छ । गोली चलेर मान्छे मर्छ । हजुरहरुले काठमाडौंबाटै तराई मधेशलाई हेरिदिने । त्यो ठिक होइन । त्यहाँ व्यवस्थापन समितिमा कस्तो आवश्यक्ता छ ? त्यहाँ नक्कली अभिभावक बनेर आउँछन । बच्चाहरु बढाएका छन् निजी स्कुलमा । व्यवस्थापन समितिमा बस्न आउँछन् सरकारी विद्यालयहरुमा । त्यसकारण यी कुराहरुलाई गम्भिरतापूर्वक लिँदै मेरो विनम्रतापूर्वक निवेदन के छ भने जे व्यवस्था गरिएको छ । त्यो ठिक छ । तर त्यसको इमान्दारितापूर्वक कार्यान्वयन हुुनुपर्छ ।’
अध्यक्ष दत्तले संस्कृत शिक्षा मुलुकका मुल शिक्षा भएकाले त्यसको विकासमा पनि सरकारले जोड दिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल