काठमाडौं – एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि सबै लोकल कलको महसुल दर घटाएको छ । अब एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्नेछन ।
एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुलदर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटबाट घटाई करबाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको हो ।
प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पेएजयुगो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महसुल दर शुक्रबारबाट लागू भएको हो ।
नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरूले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्ने सो कम्पनीले जनाएको छ ।
नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने विश्वास लिइएको भन्दै सो कम्पनीले यो नयाँ महसुल दर आगामी २०७९ सालको २४ साउनसम्म लागू रहने जनाएको छ ।