‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामा माग

.

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना नेकपा एमाले कार्यकतालाई  उठाउने (अपहरण) गर्ने धम्की दिएपछि चौतर्फी आलोचना भएको छ ।

 

 

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो  । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्र राजिनामाको माग उठेकाे छ ।

 

 

एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’

 

 

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । याे संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक गरिएकाे छ ।