सरकारले पश्चिम नेपालका भूकम्प पीडितको आवास निर्माणमा ध्यान दिनुपर्छः माओवादी सांसद शर्मा

.

सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पश्चिम नेपालमा भूकम्प पीडितको आवास निर्माणको काम ध्यान केन्दित गर्न सरकारलाई दबाब दिनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा बोल्दै उहाँले भूकम्प पीडितका लागि आवास निर्माणको कामलाई व्यवस्थित ढंगले अघि बढाउन सरकारसँग माग गर्नुभएको हो । त्यस अवसरमा उहाँले राष्ट्रियसभाको चालु अधिवेशन देश र जनताको जीवनमा बदलाव ल्याउने कुरामा केन्द्रित हुन सकोस भनि शुभकामना समेत दिनुभयो । सांसद शर्माले राष्ट्र बनाउने अभियानलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता समेत औंल्याउनु भयो ।
सांसद शर्माले भन्नुभयो, ‘राष्ट्रिय सभाको १५ औं अधिवेशनका प्रारम्भमा यो अधिवेशन देश र जनताको जीवनमा बदलाव ल्याउने कुरामा केन्द्रित रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । केही महिना अगाडि जाजरकोट, बझाङ, बाजुरा, अछामलगायतका ठाउँहरुमा गएको भूकम्पले जुन मानवीय क्षति गरेको छ । ठूलो एउटा विनाश भएको छ । यसमा म सरकारको सम्मानीय अध्यक्षमार्फत म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु कि त्यहाँको पुनर्निर्माणका निम्ति सरकारको ध्यान जाओस् । र त्यसलाई व्यवस्थित योजनाका साथ अगाडि बढाइयोस् भन्ने कुरा म माग गर्न चाहन्छु ।’
सांसद शर्माले सुशासन र सामाजिक न्यायको बाटोबाट नेपाल राष्ट्र र नेपाली जनतालाई समृद्धि बनाउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल