अन्तरदेशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान सरोकारवालाहरुले माग गरेका छन् ।
विश्व सामाजिक मञ्चको काठमाण्डौ जारी सम्मेलनमा नेपाल—भारतका गैरसरकारी क्षेत्रमा काम गरिरहेका संस्थाहरुले एक भन्दा बढी देश भएर बग्ने नदीबारे समुदायले समेत काम गर्नेगरी संयन्त्र बनाउन आवश्यक रहेको बताएका हुन् । नदीको जलाधार क्षेत्रदेखि तटीय क्षेत्रसम्म रहेका समुदाय नदीजन्य क्रियाकलापमा प्रत्यक्ष प्रभावित हुने भएकाले यसको सम्पूर्ण व्यवस्थापन समुदायले मात्र राम्रोसँग गर्नसक्ने सहभागीहरुले बताएका छन् । छलफलमा अन्तरदेशीय नदी क्षेत्र व्यवस्थापन विज्ञ राजन सुवेदीले अन्तरदेशीय नदीबारे विश्वभर विवाद रहेको र यसको प्रत्यक्षमा नदी जलाधार क्षेत्र र तटिय क्षेत्रमा बस्ने समुदायले भोगिरहेको बताउनु भयो । देश—देशबीच नदी श्रोतको विवाद र देश भित्रको सरकारको प्राथमिकतामा समुदायको विषय नपर्ने भएकाले अन्तरदेशीय समुदायको संयन्त्र बनाउन आवश्यक रहेको बताउनु भयो । नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकार भन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रुपमा काम गर्नसक्ने भएकाले व्यवस्थापनको जिम्मा समुदायलाई दिनुपर्ने विज्ञ सुवेदीले बताउनु भयो ।
नेपालका धेरै नदीहरु नेपालबाट भारतीय सीमा क्षेत्रमा जान्छन् । नेपालका नदीले भारतका नदी क्षेत्रका बासिन्दा वर्षेनी प्रभावित हुने गरेका छन् । अन्तरदेशीय नदी प्रणाली व्यवस्थापन विज्ञ मुकुन्द उपाध्याय (भारत) ले अन्तरदेशिय सीमा नदी र नदीजन्य विपद्को कारण रहेको बताउनु भयो । नेपाल र भारत जस्ता देशमा विपद् पूर्वसूचना प्रणाली कमजोर रहेकोले समुदाय स्तरको सहकार्य बढाउन आवश्यक रहेको बताउनु भयो । समुदाय स्तरको सूचना आदानप्रदानले सम्भावित जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । दक्षिण एशियाली मुलुकको नदी सम्बन्ध पानीको प्रयोगसँगै गहिरो सांस्कृतिक सम्बन्धमा समेत आधारित रहेको बताउनु भयो । नदी सीमालाई समुदायस्तरको सहकार्य र समन्वयमा व्यवस्थित र बहुउपयोगी बनाउन अन्तरदेशीय सीमा नदी क्षेत्रमा बसोवास गर्ने समुदायको छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने बताउनु भयो ।
नेपाल, भारत, भूटान, बंगलादेश एकै प्रकारका अन्तरदेशीय नदी सीमासँग जोडिएका देश हुन् । नदीको जलाधार क्षेत्रमा हुने परिवर्तनले सबै देश कुनै न कुनै रुपमा प्रभावित छन् । हिमालय क्षेत्रमा जलाधार भएका सबै नदीहरुमा दक्षिण एशियाली देशको चासो रहने गरेको छ । विश्वमा लगभग २७६ वटा अन्तरदेशीय सीमा नदीहरु रहेका छन् । करिव १४५ देशका ३ अर्ब भन्दा बढी मानिस नदी तटीय क्षेत्र र जलाधार क्षेत्रमा बसोवास गर्दछन् । जलवायु परिवर्तनले यी नदी क्षेत्रका बासिन्दा हर समय कुनै न कुनै रुपमा प्रभावित भइरहेका छन् । —न्युज एजेन्सी नेपाल