सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भुमिका निर्वाह हुन्छः काँग्रेस

.

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि आफ्नो पार्टीले नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न पार्टी महासमिति बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै काँग्रेसले तीन वटा तहमा सरकार सञ्चालनमा देखिएको समस्या समाधानका लागि पार्टीले नेतृत्वदायी भुमिका निर्वाह गर्ने निर्णय लिएको जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रिय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बैठकले मिटरब्याजलगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट पीडितहरुको माग सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको बताउनु भयो । त्यसैगरी बैठकले संक्रमणकालिन न्यायको विषयलाई छिट्टै टुंगो लगाउने निर्णय समेत गरेको छ । मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय, क्षेत्रीय, लैगिक विभेद र हिंसा बिरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिवद्धता पनि बैठकले जनाएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकि काम संक्रमणकालिन न्यायका विषयमा चाँडै टुंग्याउने प्रतिवद्धता जाहेर गर्दै, मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिविरुद्ध वैधानिक रुपमै अभियान संचालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने जिम्मेवारीबोध गर्दै, मुलुकमा विद्यमान सबै खाले सामाजिक एवं जातीय, क्षेत्रीय, लैगिक विभेद र हिंसा बिरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्दै, तीन वटै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि पार्टीको नेतृत्वदायी भुमिकाप्रति सचेत रहँदै । किसान, सहकारी, वचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरुले भोग्दै आएका पीडालाई अभिलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउने ।’

काँग्रेसले आर्थिक समस्यालाई समाधान गर्ने दायित्वलाई पनि मनन गरेर अघि बढ्ने निष्कर्ष महासमिति बैठकले निकालेको जनाएको छ । —न्युज एजेन्सी नेपाल