दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबलको उद्घाटन खेलमा आयोजक केपी ओली क्लव विजयी भएको छ । शुक्रवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजलाई ३—० गोल अन्तरले पराजित गर्दै केपी ओली क्लव विजयी भएको हो । दोस्रो हाफमा भएका तीन गोलमध्ये दुई जय गुरुङ र गुएना खेलाडी फोडे फोफानाले गरे । फोफानाले ५८ औं मिनेटमा रोहन कार्कीको पासलाई गोलमा परिणत गरे । जयले भने ६८ औँ र ८० औँ मिनेटमा व्यक्तिगन दोस्रो गोल गर्दै टिमलाई ३—० को जित दिलाए । जितसँगै केपी ओली क्लव क्वाटरफाइनलमा पुगेको छ । खेलको उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेता÷कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन् । दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टिमबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । —न्युज एजेन्सी नेपाल
केपी ओली कप फुटबलः आयोजक टिमको विजयी शुरुवात