स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री

.

प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताउनु भयो । उहाँले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदान अजर अमर रहने बताउनु भयो । उहाँले उहाँका सिर्जनाहरु कालजयी रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । शोकको यो घडीमा सबैभन्दा पहिला त म भजन शिरोमणिाको रुपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिवार र सबै संगीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरुलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छाँै र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाई गर्दैछौँ । सबैलाई यसले भावविह्वल बनाएको छ । उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरु । त्यसले गीत संगीतका क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशा निर्देश गर्नेछ नै । उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा म परिवारका अन्य सदस्यहरु जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल