लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

.

लमजुङ-लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइने भएको छ । फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो ।

 

हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने स्वास्थ्य कार्यालय लमजुङले जनाएको हो ।
लमजुङमा पनि हात्तीपाइले रोगको उच्च जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

 

प्रमुख दवाडीका अनुसार लमजुङमा हात्तीपाइले रोगको उच्च जोखिम छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हात्तीपाइले रोगको प्रकोप  चार प्रतिशत रहेको छ ।

 

जिल्लामा राइनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाइले रोगको उच्चजोखिम क्षेत्रको रूपमा लिइएको छ । जिल्लामा दुई वर्ष कम उमेरका बालबालिका, सिकिस्त बिरामी र गर्भवती महिला बाहेक यसवर्ष डेढलाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको प्रमुख दवाडीले बताए । जिल्लामा हात्तीपाइले रोग निवारणको लागि चुनौती देखिएको छ ।

 

जिल्लामा १२ चरणसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चले पनि लक्ष्य अनुरूप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ । राष्ट्रिय अभियान अन्तर्गत लमजुङमा १२औं चरणमा अघिल्लो वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियो ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा अझै जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिइएको छ । लक्ष्यभन्दा बढी जोखिम देखिएपछि उपलब्धि हासिल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका क्रममा औषधि वितरण तथा प्रयोग प्रभावकारी नहुँदा उपलब्धि हासिल हुन नसकेको सरोकारवालाहरूको बुझाई छ ।

न्युज कारखाना