बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भयोः अध्यक्ष केसी

.

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बौल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको दाबी गर्नुभयो । पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अफ्ठ्यारो बनाएको अध्यक्ष केसीले बताउनु भयो । उहाँले बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताउनु भयो । उहाँले ७ सय १९ अर्ब बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताउनु भयो । उहाँले बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अफ्ठ्यारो स्थिति भएको बताउनु भयो । उहाँले बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘बैंकहरुको समग्र सूचकलाई हर्ने हो भने दक्षिण एशियामा अन्य देशको बैकिङ उद्योग भन्दा राम्रो काम गरिरहेका छौं । समय–समयमा बैंकहरुलाई विभिन्न आरोप आइरहेको हुन्छ । बैंकहरुले धेरै पैसा कमाइरहेको भन्ने आरोप लागि रहेको हुन्छ । आज बैंकहरुले भन्दा राम्रो लाभास भाड्ने धेरै कम्पनीहरु आइरहेका छन् । ७ सय १९ अर्बको लगानी लगाएका छौं । लगानीको १० प्रतिशत मात्रै आम्दानी भइरहेको छ । बैंकहरु पछिल्लो समय पारदर्शी भएको कारण अफ्ठ्यारो स्थिति सिर्जना गर्दा आरोपहरु भइरहेको छ । पछिल्लो समय सडकबाट नै ऋण तिर्नुपर्दैन भन्ने कुरा आइरहँदा अफ्ठ्यारो अवस्था भएको छ । ५ करोड २५ लाख भन्दा बढी फरक एकाउन्टहरु लिएर निक्षेपकर्ताको रकम जम्मा गर्ने हुँदा उहाँहरुमा समस्या पर्नसक्छ । निक्षेपकर्ताको विश्वासमा बैंकहरुले काम गरिरहेका छौं । यस्तो अवस्थामा बैंकहरुलाई समय–समयमा आक्रमण हुँदा बैंकिङ क्षेत्रको मनोवल कमजोर हुँदै गएको छ । विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि यस्तो खालको मनोबललाई गिराउने काम भइरहेको छ । बैंकको ऋण लिएपछि तिर्दिन भन्ने खालको अप्सन हुँदैन । ऋण तिरेको पैसाबाट नै निक्षेपकर्तालाई दिइरहेका हुन्छौं । हरेक दिन बैंकले निक्षेपकर्तालाई ब्याज दिइरहेका हुन्छौं । ऋणहरुले ब्याज र साँवा तिर्दिन भन्दा बैंकहरुलाई निकै अफ्ठ्यारो पर्नसक्ने सम्भावना हुन्छ । कोभिडको बेलामा बैंकहरुले सबैलाई बचाउने काम गरेको छ ।’

उहाँले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताउनु भयो । उहाँले विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाह हुन नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल