प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने प्रश्ताव अस्वीकृत भएको छ ।
आईतवारको राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने प्रश्ताव अस्वीकृत भएको हो । काँग्रेसको प्रश्तावलाई आईतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो । उहाँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिनुभयो । कार्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले कार्यव्यवस्था समितिको बैठकमा आगामी कार्यसूचिका बारेमा छलफल भएको बताउनु भयो । उहाँले साथै बैठकमा फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बारेमा पनि छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको कार्यव्यवस्था समितिको बैठकमा खासगरी अबका सेड्युलहरुको बारेमा आजको सेड्युल र २९ गतेको सेड्युलका बारेमा छलफल भयो । काँग्रेसबाट सार्ने प्रश्ताव गएको थियो तर धेरै पहिला नै निर्णय भइसकेको भएकाले त्यसलाई सार्नुपर्ने कारण पनि छैन र आवश्यकता पनि छैन भनेर गएका छौँ ।’
उहाँले आज बसेको कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न काँग्रेसले प्रश्ताव लगेको थियो । तर राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने मिति यसअघिकै सरकारले तोकिसकेको भएकाले २९ गते नै अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । —न्युज एजेन्सी नेपाल