राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्धर्न गर्न आयोग सचेततापूर्वक लागिरहेको बताउनुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताउनुभएको हो । उहाँले मानव अधिकार उल्लंघन हुन नदिन सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकार उल्लंघनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिव १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएको बताउनु भयो । बाँकी सिफारिसहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइरहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आयोगले मानव अधिकार उल्लंघनको विषयमा आएको उजुरीहरुको कारबाही गरिरहेको छ । र हामीले मानव अधिकार उल्लंघन देखिएकोमा सरकारलाई सिफारिस पनि गरिराखिएको छ । र हाम्रो सिफारिस कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो धारणा छ । आयोगले उजुरी आएको विषयमा हेरेर अनुसन्धान गर्ने हो, सरकारलाई सिफारिस गर्ने हो र त्यस्तो घटना कसरी रोक्न सकिन्छ भनेर सरकारलाई नीतिगत सिफारिस गर्ने हाम्रो अधिकारभित्र पर्छ । हामी गरिरहेका छौँ । हाम्रो सिफारिस कार्यान्वयन नभएका होइनन् भएका छन् । १५ प्रतिशत पूर्ण कार्यान्वयन भएका छन् । ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएका छन् । बाँकी कार्यान्वयनको अवस्थामा छ । सरकारले कार्यान्वयन गुर्नपर्छ भनेर यसतर्फ लागिराखेका छौँ । म आह्वान गर्न चाहन्छु, कुनैपनि मानव अधिकार उल्लंघनका घटनाहरु छन् भने आउनुस्, हामी सहकार्य गरेर अगाडी बढौँ । मानव अधिकार उल्लंघन हुन नपाओस् । सबैको अधिकार संरक्षण होस् । सुरक्षित होस् । हाम्रो कामना त्यो हो । मानव अधिकारको संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्नु हो । त्यसमा लाग्न हामी सचेत छौँ । सक्रिय छौँ । लागिराखेका छौँ ।’
अध्यक्ष मगरले आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न नागरिक समाज, मिडियाहरुलाई आयोगसँग सहकार्य गर्न आग्रह पनि गर्नुभयो । उहाँले मिडियामा आएका मानव अधिकार उल्लंघनका घटनाहरुलाई पनि आयोगले ग्रहण गरेर अनुसन्धान गर्ने गरेको बताउनु भयो । उहाँले आयोगले आफ्नो सातै प्रदेशको कार्यालयहरुमार्फत मानव अधिकारको अवस्थाको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल