एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

.

काठमाडौं  –अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे तय भएको छ ।

 

 

पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति नजुटेपछि आजको लागि बैठक बोलाइएको हो ।

 

 

सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छ । त्यस्तै, शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेबुल हुन दिने तर, यथास्थितीमा भने पारित हुन नदिने निर्णय गरेको छ ।

 

 

जनता समाजवादी पार्टीमा अन्यौल रहँदा जनमोर्चा सडक आन्दोलनमा होमिसकेको छ । याे अवस्थामा सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ ।  प्रतिनिधिसभाको बैठक आज नै बस्दैछ तर, सम्भावित कार्यसूचीमा एमसीसी अटाएको छैन ।