काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई प्रतिनिधि सभाबाट पास गर्ने कुरामा आफूहरुको सहमति नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो। सोही अनुसार आजैको बैठकमा एमसीसी टेबल भइसकेको छ ।
तर, त्यसलाई पारित गर्ने विषयमा भने सहमति नभएको अध्यक्ष नेपालले संकेत गरे। ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ’, उनले भने । अध्यक्ष नेपालले केही प्रावधानहरुमा संशोधन नगरी एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् । उनकै जस्तो धारणा माओवादी केन्द्रले पनि राख्दै आएको छ । तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको जोडबलमा आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल भएको हो ।