सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छः सांसद झा

.

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निगरानीमा कडाइ नगरेकै कारण पनि भेव लगायतका धुम्रपानजन्य सामग्रीहरुको आयात बढिरहेको बताउनु भयो । उहाँले समाजमा बिस्तारै परिवर्तन हुँदै गएपनि भनेजस्तो परिवर्तन हुन नसकेको जिकिर गर्नुभयो । उहाँले धुम्रपान र मद्यपानमा सरकारले लिएको नीतिमा थप कडाइ गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले सुर्तीजन्य वस्तुका उत्पादकलाई बचाएर राख्नु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले किन निगरानीमा कडाइ गर्न सकिरहेका छैनौँ । स्मोकरहरुको कुरामा मानिसहरुले यसलाई शानको रुपमा हेरिरहेको छ । समाजमा बिस्तारै परिवर्तन भइरहेको छ, तर जसरी चेन्ज भइरहेको छ त्यो पर्याप्त छैन । यसमा नीतिमा कडाइ गर्नुपर्छ, कठोरता नै लिनुपर्छ । मानिसलाई जागरुक बनाएर नियन्त्रणमा लिनुपर्छ । यसमा अभियान नै चलाउनु पर्छ । सरकारले किन यसको उत्पादकहरुलाई माया गरेर राखेको छ ? यो प्रश्न हो ।’

उहाँले सुर्तीजन्य वस्तुहरुको सेवन कम गर्न र आयात रोक्न एउटा अभियान नै सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल