नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरु थप मर्माहत भएको बताउनु भयो । उहाँले एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको बताउनु भयो । उहाँले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउनु भयो । उहाँले महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्नुभयो । उहाँले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ । नियमित विद्युतको आपूर्ति उद्योगहरुको लागि लाइफलाइन हो । तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको छ । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ, यो कस्तो नीति हो ? हामीले बुझ्न सकेका छैनौँ । विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको छ । केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्छ । त्यसैले महंगो दरमा आयात गरेर भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गर्दछु ।’
अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसयालाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा चौतर्फी चुनौति र समस्या रहेको बताउनु भयो । चुनौति र समस्या समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल