काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आज (सोमबार) क्यानडासँग खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । यसअघि ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको नेपाल क्यानडाविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ ।
२ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । यद्यपि, नेपालले क्यानाडासँग हार ब्यहोरेमा र ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको नतिजा कुनुपर्ने हुन्छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै, फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।