महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।
व्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गौतम बुद्धले आध्यात्मिक चिन्तनकै आधारमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै मन्त्री चौधरीले हरेकले आध्यात्मिक चिन्तनमा केन्द्रित भएर अघि बढन सके प्रदुषित समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिने बताउनु भयो । मन्त्री चौधरीले बालबालिकाहरुलाई कुलतमा फस्न नदिन पनि आध्यात्मिक चिन्तनले काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आध्यात्मिक चिन्तन पनि एउटा मान्छे भित्र रहेका चिज हो । हुनतः अहिले मात्रै होइन, गौतम बुद्धले पनि बुद्धिसत्व प्राप्त गरेको अध्यात्मिक शक्ति प्राप्त गरेको सावित नै भएको अवस्था छ भने त्यसो भए यो पनि एउटा मल्टिपल इन्टेलिजेन्स हो है । हामीले आध्यामिक रुपमा केन्द्रित भएर गयो भने हरेक कुराहरु सकारात्मक भएर आउन सक्छन् । र प्राप्ती गर्नसक्छौ । र समुदायलाई सकारात्मक बनाउन सक्छौं । समाजमा रहेका नकारात्मक कुरालाई सफा बनाउन सक्छौं । प्रदुषित चिजलाई होडबाजी भन्दा नकरात्मक होडबाजी भन्दा सकारात्मक होडबाजी जानसक्ने वातावरण तयार पार्नसक्छौं भन्ने कुरा मलाई फिल हुन्छ । त्यसो हुनाले जब वैज्ञानिकले त्यो कुराको फिल गरेको छ भने तपाई हामीले किन नगर्ने ?’
त्यस अवसरमा मन्त्री चौधरीले आध्यात्मिक बाटोबाट समाजलाई सकारात्मक बाटोमा अघि बढाउन पहल गरेको भन्दै व्रह्माकुमारी राजयोग सेवा केन्द्र्र्र्र्रप्रति पनि आभार व्यक्त गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल