एमालेको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तिब्रता पाउँछः ईश्वर पोखरेल

.

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तिब्रता बताउनुभएको छ ।

धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भएमात्रै मुलुकमा विकास अभियानले तिब्रता पाउने बताउनुभएको हो । उहाँले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाई भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गर्नुभयो । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताउनु भयो । उहाँले एमालेले कृषि र सिंचाईमा बढी जोड दिएर काम गरिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो । त्यसैले एमालेमाथी चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनता लगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौँ ।’

कार्यक्रममा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको बताउनु भयो । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताउनु भयो । एमाले नेतृत्वको सरकार बनेसँगै व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रहने बताउनु भयो ।

सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल