इङ्ल्याण्डको हुने फुटबलबाट सिक्नेछौं–कप्तान किरणकुमार लिम्बू

.

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिव एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्र्रो भएको बताउनुभएको छ ।
नेपालले आगामी वैशाख २४ गते इङ्ल्याण्डको अल्डरसटमा तेस्रो डिभिजन क्लव स्टोक सिटीसँग खेल्दैछ । सोही खेलका लागि सोमवार भएको बिदाई कार्यक्रममा कप्तान लिम्बुले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । इङ्लिस टोलीसँगको खेलका लागि आफ्नो टोली उत्साहित रहेको उनले बताउनु भयो । टोलीमा नयाँ खेलाडीको आगमनमा केही सकरात्मक पक्ष रहेको उल्लेख गर्दै ती खेलाडीले इङ्लिस फुटबलमा खेल्न पाउनु सुखद् पक्ष रहेको कप्तान लिम्बूको बुझाइ छ ।

नेपाली टोलीलाई सोमवार नेपालका लागि इङ्ल्याण्डका राजदुत रोब फेन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलगायतले बिदाई गरेका थिए । बिदाई कार्यक्रममा कप्तान किरणले नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ रहेकाले इङ्ल्याण्डको मैत्रीपूर्ण खेल ती खेलाडीका लागि राम्रो तयारी हुने आशा व्यक्त गर्नुभयो । विश्वकप छनोटचरणको खेलका लागि नयाँ खेलाडीलाई एक्सपोजर आवश्यक रहेको कप्तान किरणले बताउनु भयो ।
उहाँले यो युवा टोली अनुभवी बन्न समय लाग्ने उल्लेख गर्नुभयो । त्यसैले इङ्लिस टोलीसँग पिच सेयर गर्न पाउनुले पनि आत्मविश्वास बढ्ने उहाँको विश्वास छ । प्रशिक्षक र खेलाडीले पनि इङ्लिस टोलीकोबारे बुझिरहेको र उनीहरू शारीरिक रूपमा निकै बलियो रहे पनि आफ्नो उत्कृष्ट गर्ने कप्तान किरणले बताउनु भयो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीको तयारी छोटो भए पनि तयारी रहेको उल्लेख गर्दै इङ्लिस फुटबलको तल्लो डिभिजनको टोली भएपनि बलियो हुने बताउनु भयो । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ छ । पछिल्ला समय धेरै खेलाडी विदेसिएकाले यो टोली कम अनुभवी रहेको उहाँले बताउनु भयो ।
बाइट…भिनसेन्जो अल्बर्टो एनेस, प्रशिक्षक, नेपाली फुटबल टोली
बिदाइ कार्यक्रममा इङ्ल्याण्डका राजदुत फिनले बाल्यकालका आफ्नो खेलबारे स्मरण गर्दै नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको धारणा राख्नुभयो । साथै उहाँले स्टोक सिटीबाट नेपालले राम्रो नतिजा पनि पाउने उहाँले आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्वाङले यो मैत्रीपूर्ण फुटबलको व्यवस्थापन गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिनुभयो । इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण फुटबलबाट खेलाडीले धेरै अनुभव प्राप्त गर्ने आशा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले इङ्ल्यान्डका राजदुतलाई नेपालको जर्सी पनि हस्तान्तरण गर्नुभएको थियो । एन्फाले सोमवार नै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको थियो । फत्तेमान घलेलाई पहिलोपटक समेट्दै नेपाली टोली घोषणा भएको छ । एनेसले सोमवार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् । मिडफिल्डरमा फत्तेमानसहित मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन बिष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव बिष्ट छन् । एन्फाका सदस्य मनिष जोशीको नेतृत्वमा नेपाली टोली इङ्ल्याण्ड जाँदैछ । टोलीको प्रशिक्षण टोलीमा प्रवेश कटवाल र विनोद महर्जन छन् । —न्युज एजेन्सी नेपाल