नेकपा(एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले स्थानीय तहसम्म पार्टीको संगठन नहुनाले उपनिर्वाचनमा हार व्यहोर्नु परेको बताउनुभएको छ ।
मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव श्रेष्ठले पार्टीको स्थानीय तहको सबै ठाउँमा संगठन नहुनाले बझाङ र इलाममा भएको उपनिर्वाचनमा हार व्यहोर्नु परेको बताउनुभएको हो । उहाँले पार्टीको अवस्था अनुसार निर्वाचन मत परिणाम धेरै फरक भएको रुपमा आफूहरुले नलिएको बताउनु भयो । उहाँले पार्टीको हार हुनुमा संगठन सँगसँगै राष्ट्रिय राजनीतिक परिस्थिति र सत्ता समिकरण पनि जिम्मेवार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘जुनखालको मत परिणामहरु छ । त्यसमा हामी अहिले पार्टी निर्माणको अभियानमा छौँ । विगतमा हामी गठबन्धनको माध्यमबाट निर्वाचनमा गएका थियौँ । हामी भर्खरै विद्रोह गरेर स्थापना भएका पार्टी भएको हुनाले हाम्रो पार्टी स्थानीय तहसम्म सबै ठाउँमा व्यवस्थित भएको अवस्थाहरु छैन । कतिपय हामीले अपेक्षा गरेको भन्दा फरक खालका परिणामहरु आएका छन् । जुन अपेक्षाकृत हो त्यो अनुसार नभएपनि हाम्रो जुनखालको अवस्था छ त्यसमा हामीले त्यतिधेरै एकदमै आशातितभन्दा एकदमै फरक भयो भन्ने ढंगबाट लिएका छैनौँ । स्थानीय तहमा पार्टी निर्माण गर्ने कुरामा केन्द्रित गरेर जान सकेको भए त्यो अवस्था हुँदैन थियो । संगठन नै हो । राष्ट्रिय राजनीतिको परिस्थितिको कुरा पनि छन् । अहिले हामी सत्ता साझेदारको रुपमा रहेका छौँ । त्यसो हुँदाखेरीपनि प्रभावित हुने काम भएको छ । सत्ता साझेदार दलहरु पनि छुट्टाछुट्टै निर्वाचनमा गयौँ । तर त्यसरी जाँदा पनि अहिलेको राष्ट्रिय राजनीतिलाई, अहिलेको सत्ता समिकरणको निरन्तरताका कुराहरु र राजनीतिक स्थिरताका कुराहरुलाई ध्यान दिएर मतदानको अवस्था बनेका छन् कतिपय अवस्थामा ।’
उहाँले स्थानीय तहमा पार्टी निर्माण गर्ने कुरामा केन्द्रित भएको भए अहिलेको जस्तो अवस्था नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल