नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्न लागिएको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा भएको नेपाल घरजग्गा तथा आवास विकास संघको १७ औं साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले पुँजी अभावका कारण धेरै आयोजना र उद्योगहरु स्थापना गर्न नसकिएको भन्दै अब नेपालमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा संकलन गरी देशभरका उद्यमी व्यवसायीहरुले लगानी गर्नसक्ने गरी १० अर्ब पुँजीको इन्भेष्टमेण्ट कम्पनी दर्ता गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कम्पनीमा उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्स अन्तर्गतका व्यवसायी तथा अन्य व्यवसायीहरुलाई समेत समेटेर कम्पनी स्थापना गरिने बताउनु भयो । उहाँले ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन,ठूलो बस्ती विकास,हाइवय,हाइड्रो,पर्यटन लगायतका आयोजनाहरु सानो रकम अभावमा सम्पन्न हुन नसक्नेका आयोजनामा लगानी गर्नसक्ने गरी कम्पनी स्थापना गरिने बताउनु भयो । साना र मझौला उद्यमी व्यवसायीहरुलाई प्राथमिकता दिने उहाँको भनाई छ । अध्यक्ष ढकालले कुनै व्यवसायीले साना रकम २ लाख लगानी गर्न चाहेमा त्यो रकम पनि स्वीकार गरेर पुँजी संकलन गरिने बताउनु भयो । उहाँले महासंघका सदस्य बाहेकका अन्य उद्योगी व्यवसायीले पनि लगानी गर्नसक्ने बताउनु भयो । उहाँले सर्वसाधरणबाट पैसा जम्मा गरेर आइपीओमा जाने भन्दा पनि ९० प्रतिशत रकम उद्योगी व्यवसायीहरुबाट संकलन गरिने बताउनु भयो । कम्पनी स्थापना पछि ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने अवस्था रहेको बताउनु भयो । कम्पनीमा धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने बताउँदै लगानीका लागि निश्चित सीमा तोकिने र ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने बताउनु भयो । अध्यक्ष ढकालले मुलुकमा केही गर्न सकिँदैन भन्ने मनोभावलाई अन्त्य गर्नको लागि पनि मुलुकभित्रको लगानी संकलन गरी ठूला अयोजनाहरुमा लगानी गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘७७ जिल्लाका व्यवसायीहरु अट्ने एउटा ठूलो कम्पनी बनाउनु प¥यो । जबकी त्यसले ठूला मेगा प्रोजेक्टहरु ट्रान्समिसन लाइन,ठूलो बस्ती विकास,हाइवे,हाइड्रो,पर्यटन लगायतका आयोजनाहरु सानो रकम नभएको कारण अगाडि बढाउन नसकेका छन् । त्यस्ता आयोजनाहरु,उद्योग प्रतिष्ठानहरुलाई अगाडि बढाउनको लागि महासंघको तेस्रो कार्यकारिणी समिति बैठकबाट १० अर्बको पब्लिक लिमिटेड कम्पनी अगाडि बढाउने निर्णय भएको छ । त्यसमा उद्योग वाणिज्य महासंघ ,उद्योग परिसंघ र चेम्बर अन्तर्गतका व्यक्तिहरु र सदस्य नभएकाहरुलाई पनि समेटेर १० अर्बको कम्पनी बनाउने हिसावले उद्योग वाणिज्य महासंघले तयारी गरेको छ । नेपालमा सम्भावना छ भन्ने सन्देश दिने र साना–साना छरिएर रहेको पुँजीलाई एउटा ठाउँमा ल्याएर सम्भावित अवसरहरुलाई सदुपयोग गरौं भन्ने हिसाबले कम्पनी दर्ता गर्न लागेका छौं । सर्वसाधरण नागरिकबाट पैसा उठाएर आइपीओमा जाने खालको कम्पनी होइन । १० प्रतिशत सर्वसारधणलाई दिने बाँकी इकुटीकै रुपमा पुँजी बनाएर १० अर्बको कम्पनी भयो भने कम्तिमा ३५ देखि ४० अर्बका आयोजनाहरु गर्न सकिन्छ । सरकार रुग्ण रहेका उद्योग प्रतिष्ठानहरु लगानी गर्न सकिन्छ । अन्य सम्भावित आयोजनाहरुलाई समेट्न सकियोस् । हामीले वैदेशिक लगानी मात्रै भनेका छौं । हामीले स्वदेशी पुँजीमा पनि काम हुनसक्छ । सम्भावना छैन भन्ने खालको मनोभावलाई परिवर्तन गर्न सकिन्छ ।’
नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकले घरजग्गा कारोबारमा लिएको कठोर नीतिको कारण घरजग्गा व्यवसायमा ठूलो समस्या ल्याएको दाबी गर्नुभयो । उहाँले सरकारले बनाउनुपर्ने जग्गा हदबन्दी,विदेशीले नेपालको अपार्टमेण्ट खरिद गर्न पाउनुपर्ने,जग्गा भोकाधिकार,जग्गा कित्ताकाटका समस्या,अपार्टमेण्ट बिक्री वितरण रोक्का,करको दायरा वृद्धि लगायतका विषय समस्या समाधान गर्नुपर्ने रहेको बताउनु भयो । उहाँले सरकारले यस्ता समस्याहरुलाई क्रमस कानूनी रुपमा समाधान गरे मात्रै व्यवसायीहरुको आत्मविश्वास बढ्ने र कारोबार चलायमान हुने बताउनु भयो । उहाँले ल्याण्डपुलिङमार्फत ठूला घरजग्गा सम्बन्धि ठूला आयोजनाहरु बन्ने अवस्था नरहेको बताउनु भयो ।
उहाँले नयाँ आयोजना मात्रै नभएर पुराना आयोजनाहरु समेत सरकारको नीतिका कारण समस्या भइरहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ५० र ६० प्रतिशत व्यवस्था नै कठोर नीति भएको बताउनु भयो । उहाँले जसको कारणले बैंकहरुबाट ३ प्रतिशत पनि कर्जा आउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले लोन टु भ्यालु रेसियोमा आगामी मौद्रिक नीतिमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल