सरकारलाई बलियो बनाउने गरी विधेयकहरु अगाडी बढाउनुपर्छः मन्त्री शर्मा

.

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउनेगरी विधेयकहरु अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जुन पार्टीको सरकार भएपनि र जो व्यक्ति मन्त्री भएपनि सरकार बलियो हुनुपर्ने बताउनु भयो । विधेयकको छलफलका क्रममा बोल्दै सांसदहरुले राज्यले सञ्चालन गर्ने मिडियाहरुको सञ्चालक समिति अध्यक्षमा मन्त्री र सचिवलाई नराखी सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षलाई बनाएर स्वतन्त्र निकाय बनाउनुपर्ने कुरा राखेपछि उहाँले यस्तो बताउनुभएको हो । राज्यका ठूला पदीय दायित्वमा भएका व्यक्तिहरुलाई यस्ता समितिहरुमा राख्नु नहुने मन्त्री शर्माको धारणा छ ।
उहाँले भन्नुभयो – ‘सञ्चालन गर्ने मुख्य मान्छे त अध्यक्ष हो । अध्यक्ष प्रश्तुतीको आधारमा बनाउने कि नियुक्त गर्ने । नाम सिफारिस गरेर त्यही व्यक्तिलाई नेपाल सरकारले तोक्ने हो भने यस्तामा चाहीँ हुनसक्छ । यदि साच्चै व्यक्तिलाई प्रश्तुति गराउने, योग्य व्यक्ति ल्याउने, स्वतन्त्र व्यक्ति ल्याउने । मेरिटोक्रेसीमा जाने भन्ने हो भने सभामुख र मन्त्री उसको प्रश्तुती हेरेर बस्न सक्ने हो कि होइन ? हामी व्यक्तितिर नहेरौँ भन्ने हो मेरोचाहीँ । मन्त्रीतिर पनि नहेरौँ । अरुतिर पनि नहेरौँ । राष्ट्रिय सभाले सिफारिस समितिमा योजना आयोगको सदस्य लिएर आएको छ संशोधनमा । तर के गरौँ भने सरकारले गरेका काम, कारबाही गलत छन् भने त्यसलाई नियमन गर्ने, नियमनकारी रुपमा जाने, आलोचना गर्ने एउटा पार्ट हो । तर सरकार बलियो हुनुपर्छ । जस्कोसुकै पार्टीकोमा होस्, जोसुकै मन्त्री होस् । जो जेसुकै होस् । सरकार बलियो हुनुपर्छ भन्ने धारणा अनुरुप नै हामी अगाडी जानुपर्छ जस्तो लाग्छ । यस्तो खालको मा ठूलो पदीय दायित्वका व्यक्तिहरुलाई इन्गेज गराउने कुरा गम्भिरतापूर्वक सोचौँ भन्ने मेरो आग्रह छ ।’

उहाँले सरकारले ल्याएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकलाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल