नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोष ३४ औं वर्षमा प्रवेश गरेको छ । सन्तुलीत शहरी पुर्वाधार विकास, वातावरणमैत्री पूर्वाधार र व्यवस्थित शहर निर्माणतर्फ कोषले कस्तो काम गर्दै आएको छ त ? कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटासँग रुपान्तरण पोष्टले गरेको कुराकानी :
नगर विकास के हो ? नगर विकास कोषले के के काम गर्दै आएको छ ?
नगर विकास कोष सरकारको वित्तिय मध्यस्तकर्ता संस्था हो । यसले विशेष गरि पुर्वाधार निर्माणमा ऋण लगानी गर्दै आइरहेको छ । नगरपालिकाहरुसँग शहरी पूर्वाधारका क्षेत्र तथा खानेपानी आयोजनाहरुमा ऋण लगानी गर्दै आएको छ ।
नगर विकास कोषको ऋण लगानीका मापदण्डहरु के के छ ?
नगर विकास कोषसँग ऋण लगानी गर्न आफ्नै प्रकारको आयोजना मुल्याकंन पद्धती छ । त्यस सिष्टम अन्तर्गत नगरपालिकाहरुबाट आएका योजनाहरुलाई कोषले मुल्याकंन गर्ने, आयोजनाको मुल्याकंन प्रतिवेदन तयार गरि त्यसको आधारमा ऋणको मापदण्ड तय हुन्छ । नगर विकास कोषले गर्ने मुल्यकंनका आधारमा लगानी गर्दै आइरहेको छ ।
नगर विकास कोषले भरखरै ३४ औं वार्षिक उत्सव मनाएको छ । आजसम्म आइपुग्दा कोषको हालसम्मको उपलब्धी के हो ?
हामीले विगतदेखि नै प्रतिफल दिने क्षेत्रमा लगानी गर्दै आइरहेका छौ । कोषले नगरपालिकाहरुमा जुन हिसाबले लगानी गर्दै आएको छ, त्यसले नगरपालिकाहरुलाई आम्दानी दिने खालका आयोजनाहरु छन् । शहरी विकासमा राम्रो विकास निर्माणको आधार बनाइरहेका छौ । नयाँ बनेका नगरपालिकाहरुमा विभिन्न समस्यका कारण चाहेजति परियोजना लान सकिरहेका छैनौ । ३० वटा जति नयाँ नगरपालिकामा परियोजनाहरु लगिसकेका छौ । बाँकी पालिकाहरुमा परियोजना लैजाने तयारीमा छौ ।
नगर विकास कोषलाई नगर विकास पुर्वाधार निगममा लैजाने कुरा धेरै पहिलेबाट सुन्नमा आएको हो । प्रक्रिया कहाँ पुग्यो ?
लामो समय राजनीतिक अस्थिरताका कारण हामीले सोचे अनुरुपको काम अगाडि बढाउन सकेका थिएनौ । अहिले कोषलाई निगममा लैजाने ऐन निर्माणको चरणमा छ । शहरी विकास मन्त्रालयमा छलफल पश्चात कानुन मन्त्रालयमा सहमतीका लागी गएको अवस्थामा छ ।
कोष पूर्वाधार निगममा रुपान्तरण भएपछि अहिले सहकार्य गरिरहेका र गर्न नसकेका नगरपालिकाहरुलाई के फाइदा हुन्छ ?
नगरपालिकाहरुले अहिले पनि कोषबाट फाइदा लिइरहनु भएको छ र लिन सक्नु हुन्छ । योे त भोलि निगम भएपछि पनि निरन्तर हुन्छ । अहिले नगरपालिकाहरुको ठुलो समस्या भनेको पूर्वाधार बनाउनका लागी चाहिने जग्गा रहेको छ । हामीले हतार हतारमा नगरपालिका घोषणा गर्यो तर नगरपालिका हुन चाहिने पूर्वाधार तिर ध्यान नदिँदाको परिणाम अहिले पालिकाहरुले भोगी रहेका छन् । जग्गाको अधिकार संघीय सरकारमा छ तर स्थानीय सरकारसँग पुर्वाधार बनाउनका लागी जग्गा छैन । जग्गा भएका कतिपय पालिकाहरुसँग श्रोतको अभाव छ । डेढ वर्षदेखि मैले नगर विकास कोषको कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्दै गर्दा सोचे जस्तो लगानी गर्न सकिरहेको छैन । लगानी गर्न नसक्नुको एउटा ठुलो कारण जग्गा प्राप्ती नै हो । सरकारी जग्गा स्थानीय तहले उपभोग गर्ने सन्दर्भमा क्याविनेटको निर्णय आवश्यक पर्ने अहिलेको कार्यविधि छ । त्यो कार्यविधि अन्तर्गत एउटा मेयरले आफ्नो कार्यकालमा जग्गाको लिजाधिकार लिन उसलाई तीन चार वर्ष लाग्छ । यस्तो अवस्थामा पालिकाहरुले कसरी पूर्वाधार निर्माण गर्न सक्छन् ?
जग्गा प्राप्ती बाहेकका अन्य चूनौतीहरु के के छन् ?
नगरपालिकाहरुमा अहिले तीन कुराको समस्या छ । पहिलो जग्गाको समस्या, दोस्रो सक्षम प्राविधिक जनशक्तीको अभाव र तेस्रो योजनाको अन्यौलतामै पालिकाहरु रुमलिरहेका छन् । नगर विकास कोष माथी चृुनौतीहरु भनेको कुनै पनि आयोजनामा लगानी गर्नका लागी आयोजनाको तयारी प्रभावकारी रुपमा हुन सकिरहेको छैन र नगरपालिकाहरुले हचुवाको भरमा आयोजना बनाईदिने अवस्था छ । नगरपालिकाहरुले आफ्नो क्षमता भन्दा ठुलो आयोजना बनाइरहेका कारण ती आयोजनाहरुमा प्राविधिक, वातावरणीय, आर्थिक पक्षहरुको अध्ययन राम्रोसँग नगरी आयोजना सुरु गर्दा नगरपालिकाहरुबाट आएका आयोजनाहरुलाई हामीले आफ्नो अध्ययन पश्चात पुन डिजाइन गरि नयाँ डिजाइनबाट आयोजनाहरुमा लगानी गरिरहेका छौ ।
नगर विकास कोषको अबको रणनीति के छ ?
हामी पालिका र नगर विकाससँग सम्बन्धित निकायहरुलाई सरकारको एउटा वित्तिय मध्यस्तकर्ता भएकाले उहाँहरुले चाहे जति लगानी गर्न सक्ने वातावरण बनाउने तयारी गरिरहेका छौ । पूर्वाधार निर्माणमा नगरपालिकाहरुको क्षमता विस्तारलाई अगाडी बढाईरहेका छौ । पालिकाहरुको क्षमता विकासका लागी आवश्यक रणनीति बनाएर अगाडी बढिरहेका छौ । भोलीका दिनमा नगरपालिकाहरुको जुन आंकाक्षा छ, त्यो पुरा गर्ने गरी काम गरिरहेका छौ ।
तपाईको १८ महिने कार्यकाल पुरा हुँदै गर्दा यस बीचमा भएका महत्वपूर्ण उपलब्धीहरु के के हुन् ?
नगर विकास कोषसँग भएको श्रोत, जनशक्ती र कोषले दिएको दायित्व अनुसार काम गरिरहेका छौ । हाम्रो काम भनेको पालिकाहरुलाई प्राविधिक सहयोग, आयोजनामा लगानी र लगानी गरिएको आयोजनाहरुबाट ऋण असुली गर्ने हो । यी तीन वटै पक्षमा नगर विकास कोष मेरो नेतृत्वमा खरो रुपमा उत्रिएको छ । हामीले शहरी पूर्वाधार तर्फ ३ अर्व, खानेपानीको क्षेत्रमा लगभग डेढ अर्वको हाराहारीमा ऋण सम्झौता गरेका छौ । ५० वटा आयोजना निर्माणाधिन अवस्थामा छ । कोषको क्षमता अनुसार ५० वटा आयोजना निर्माणाधिन अवस्थामा हुनु भनेको आफैमा ठुलो उपलब्धी हो ।
भिडियो