विश्वकपमा छनोटका लागि युएईसँग खेल्दै नेपाल

.

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युएईसँग खेल्दैछ । ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । यस खेलबाट नै नेपालको विश्वकप यात्राको छिनोफानो हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । यता, युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

हेड टु हेड

नेपाल र युएईबीच चार टि२० आई खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा २ खेल युएईको पक्षमा गएको छ ।  २०१९ मा नेपालले युएईलाई उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिज २–१ ले जितेको थियो भने यसै साता चार देश सम्मिलित टि२० आई सिरिजमा नेपाल २५ रनले परजित हुन पुगेको थियो ।

अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली रहेकाले नेपाल युएईविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रदैछ ।  नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।