मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छः मन्त्री श्रेष्ठ

.

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताउनुभएको हो । उहाँले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताउनु भयो । उहाँले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको बताउनु भयो । उहाँले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मन्त्रालय कम बजेटमा चलाउनु परेको छ । देशभरका जनप्रतिनिधिहरु वडा सदस्य, गाउँपालिका प्रमुखदेखि लिएर प्रदेशका सांसद, सभामुख, प्रदेशका मन्त्रीसम्म योजना माग्न आउनुहुन्छ । उहाँहरुलाई हामीले वस्तुस्थितिको बारेमा भन्दाखेरी देशको बजेट भन्दा ठुलो माग खेलकुद पूर्वाधारको माग भएर आएको छ । उहाँहरुलाई बुझाउँदै पठाउँदा, उहाँहरु पनि के कुरामा चित्त बुझाएर जानुहुन्छ भने कम्तिमा तपाईलाई हाम्रो माग राखेका छौँ भनेर फोटो खिचाएर जाउ भनेर पनि चित्त बुझाएर जानु भएको छ अहिलेसम्म । जनतालाई हामीले माग चाहीँ राखेका छौँ हुन्छ हुँदैन भन्नेसम्म । यो स्थिति छ । अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो र चेस नै हो । लगायत बागचालका खेलहरु मात्रै हुन् । नारायणी रंगशाला वीरगञ्जको अवस्था जिर्ण छ । दशरथ रंगशाला त्यस्तै छ । समयसापेक्ष हिसाबले खेलकुद कहाँ पुगिसक्यो । पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन । बजेटको अभाव हो । समय सापेक्ष पनि हुन सकिरहेको छैन । नीतिगत रुपमा नै सुधार गर्नको लागि मन्त्रालयले खेलकुद परिषद्लाई स्पष्ट निर्देशन दिएको, रंगाशाला सञ्चालन, प्रयोग तथा मर्मत कार्यविधि बनाई सकेको छ परिषद्ले । त्यसलाई आगामी बोर्ड बैठकमा अनुमोदन भएपछि व्यक्तिले होइन कुनै विधिले रंगशाला राम्रोसँग कार्यान्वनय हुने काम भइरहेको छ ।’ 

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने बताउनु भयो । उहाँले संघहरु दलहरु अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । उहाँले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरुले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने बताउनु भयो । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने पनि मन्त्री श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘बहुदलीय व्यवस्था संसदमा भयो । त्योभन्दा बढी व्यवस्था त संघहरुमा छ । केही गर्न खोज्यो भने मुद्दा हालिदिने रहेछ । दुई महिना भयो मैले जिम्मेवारी लिएको मैले नेपालको राजनीतिक व्रह्माण्ड नै देखेको जस्तो भएको छ । कराँते, कुस्तीका आउने । म ठिक भन्ने । अर्कोले त्यो ठिक होइन, म ठिक भन्ने । तर गर्न सकिन्छ कि भन्ने आशा चाहीँ छ । रंगशाला समय सापेक्ष भएन । विदेशीहरुले उसको अत्याधुनिक बनेको रंगशालाको मापदण्ड हामीले पालना गर्नुपर्ने भन्छ । अहिले पनि हामीले वैकल्पिक रंगशाला बनाउन सकेका छैनौँ । भएकोलाई बचाउन पनि सकेका छैनौँ । यो मन्त्रालय योभन्दा तल जान बाँकी छैन । जे गरेपनि अब राम्रो हुन्छ । रंगशालामा घाँस उम्रिएपनि राम्रो हुन्छ । बत्ति बलेपनि राम्रो हुन्छ । यो भन्दा नराम्रो हुन बाँकी नै छैन यो मन्त्रालय । रंगशालामा गैर खेलकुदलाई रोक्नैपर्छ । यो भनेर मैले कोहीप्रति पनि आग्रह, पूर्वाग्रह राखेको होइन । राजनीतिक कार्यक्रम बन्द । कन्सर्टहरु बन्द । यसमा सबै एकढिक्का बनौँ । दशरथ रंगशालाको विकल्प खोज्नुपर्ने भएको छ । त्यहाँ खेल भयो कि ट्राफिक जामले काठमाडौं ठप्पै हुन्छ । बरु बाहिर लगौँ । उपत्यका बाहिरलाई पूर्वाधारमा प्राथमिकतामा राखेका छौँ ।’

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल