संसद सुचारु गर्न ४ बजेसम्म सहमति जुट्ने नेताहरुको दाबी

.

सांसदहरुले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरुका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ । यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन । यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन् ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडी बढ्ने दाबी गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताउनु भयो । उहाँले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘४ बजेको बैठक अगाडी बढ्छ । त्यसहिसाबले समझदारी गर्नका लागि नै अहिले हामीले केही समय माग गरेका हौँ । नेपाल सरकारको तर्फबाट पनि पहल जारी छ । प्रमुख प्रतिपक्षले पनि यति महत्वपूर्ण समय सांसदको, देशको । विरोध र अवरोधको श्रृङ्खला लगातार जारी राखेर देशलाई, संसदलाई बन्दक बनाउनु हुँदैन । प्रमुख प्रतिपक्षले बुझ्नुपर्छ । गृहमन्त्रीलाई बोल्न समय दिनुपर्छ । ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताउनु भयो । उहाँले संसदीय छानविन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । उहाँले सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताउनु भयो । उहाँले सो प्रकरणको छानविन गर्नुपर्ने र काँग्रेसका कोही दोषि भएमा कारबाही भोग्न तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हिजो प्रधानमन्त्रीसँग हाम्रा केही साथीहरुले गएर कुरा गर्नुभयो । अहिले बिहान पनि केही कुरा भएको छ । प्रधानमन्त्रीजी व्यक्तिगत रुपमा हामीलाई भेट्दा सकारात्मक देखिनुहुन्छ । फेरि सत्तारुढ गठबन्धनसँग कुरा गर्न थालेपछि कता कता उहाँपनि रेडिकल हुनुहुन्छ । कहिले हामीसँग ठिक । कहिले उता ठिक । यही बारेमा एउटा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जाउँ भन्ने हाम्रो धारणा हो । सभामुखलाई पनि त्यही भनेका छौँ । सधैँ सदन नकारात्मक रुपमा मात्रै नजाओस् भन्ने कुरा छ । यही पहलका लागि सभामुखले ४ बजेसम्मका लागि रोकौँ न भनेर ४ बजेसम्मलाई स्थगित गरिएको हो । सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आयो भने सबै कुरा सहमती हुन्छ । अदालतले निर्णय गर्छ काँग्रेसलाई नै आरोप लगाउनु भनेको सही मानसिकताको उपजले त्यो कुरा बोलेको हो भन्ने लाग्छ ? अदालतप्रति आक्रमण गर्ने । आफैँ प्रधानमन्त्री हुँदा अर्बौ नीतिगत भ्रष्टाचारको निर्णय गर्ने । त्यसलाई अदालतले झापड हानेर उल्ट्याइदियो । नैतिकताको कुरा गर्ने हो भने भ्रष्टाचारमा सबभन्दा बढी संलग्नता बालुवाटार त छावा मात्रै हो हात्ति त उतैतिर छ भन्ने हो । त्यसमा को–को छन् अझै छानविन गर्नेगरी आउनुपर्छ । कांग्रेस दोषि छ भने सजायको भागि हुन्छौँ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली काँग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिनुभयो । उहाँले काँग्रेससँग सहमति भएर ४ बजेको संसद खुल्ने दाबी गर्नुभयो । उहाँले संकटग्रस्त सहकारीहरुको छानविन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘निरन्तर संसद अवरोधको जनतामा राम्रो संसद परेको छैन । प्रधानमन्त्रीको तर्फबाट निरन्तर पहल, एकपक्षिय, बहुपक्षिय वार्ता छलफल भइरहेको छ । सत्ता साझेदार दलको मुख्य नेतृत्वको बिचमा छलफल भएको छ । नेपाली काँग्रेससँग पनि हामीले अन्तिम पटक छलफल गर्ने र ४ बजेसम्म मोटो समझदारी हुन्छ र सदन खुल्छ भन्ने अपेक्षासहित सदन स्थगित गरिएको छ । समग्रमा सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याउन, सहकारी पीडितहरुलाई न्याय निरुपण गर्न नेपाल सरकारले संकटग्रस्त सहकारी जो तोकिएको त्यो सहकारीहरुको संसदीय छानविन समितिमार्फत छानविन गर्ने प्रक्रियामा नेपाल सरकार प्रतिवद्ध छ । नेपाली काँग्रेसपनि सहमतीको नजिक पुगेको छ ।’

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘चार बजेसम्म यसको निकास हुन्छ । प्रतिपक्षले उठाएको कुरालाई पनि सम्बोधन हुनुपर्ने । सरकारले पनि उठेका कुराहरुलाई समझदारी, समन्वय गरेर समस्याको हल हुन्छ ।’

नेपाली काँग्रेसका सांसद शेखर कोईरालाले पनि ४ बजेसम्म सहमती जुट्नेमा आफू आशावादी रहेको बताउनु भयो ।

संसद बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरु आ–आफू संसद खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन् । —न्युज एजेन्सी नेपाल