सरकार छोड्ने निर्णय नगरेको हुनाले विश्वासको मत दियौँः सांसद पाण्डे

.

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताउनुभएको हो । उहाँले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मलाई व्यक्तिगत रुपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइ हाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई । किन लिनुभयो भन्नेकुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । यद्यपी हामी सत्तापक्षकै हौँ । हामीले विश्वासको मत दियौँ पनि । १५७ मध्ये १० भोट हाम्रो पनि हो । हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनै प¥यो नि हाम्रै साथीहरु मन्त्री छन् । सरकारमा अर्को निर्णय नभएसम्म बस्छौँ । आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो । प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले विपक्षमा भोट पनि हालेनन् । एक खालको वहिष्कार जस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।’
उहाँले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने धारणा व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल