टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँः आरजु राणा

.

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको हो । उहाँले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउनु भयो । उहाँले पत्रकारहरुलाई  टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गर्नुभयो । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताउनु भयो । उहाँले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘टिकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहीँ २०६८ सालपछि हो । त्यो कुराहरु पनि तपाईहरु गएर हेर्नुहोस् । तपाईहरु सबै खोज पत्रकारिता गरिरहनु भएको छ । तपाईहरुलाई गएर हेरिदिनुस् भन्छु । कागजात खोलेर हेर्नुहोला तपाईहरु कृपया । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन् ।  न्यायोचित छानविन होस् ।  यो गर्ने सदनको काम होइन ? यो पनि नगरे के गर्ने त सदनमा ?’
उहाँले नेपाली काँग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल