सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शिर्ष नेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शिर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा सहकारी प्रकरणमा संसदीय छानविन बनाएर संसदमा प्रमुख प्रतिपक्ष दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ । छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले समिति बनाउनका लागि सबैको जोडबल रहेको बताउनु भयो । त्यस्तै नेपाली काँग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउ परेको सन्दर्भमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उहाँले बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्टममा उभिएर नेपाली काँग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘छलफल सकारात्मक छ । सकारात्मक रुपमै आज छलफल भएको छ । समिति बनाउनेतर्फ नै सबैको जोडबल छ । आजको बैठकमा प्रधानमन्त्रीजीको कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो र आतंकित गर्ने काम भयो त्यो कुराको बारेमा हामी गम्भीर छौँ हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ भनेर हामीले कुरा उठायौँ । केही दिन पहिला गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको रोष्टममा उभिएर जुन ढंगले विषयवस्तु प्रस्तुत गर्नुभएको छ, सदनभित्र रहनुभएका माननीयहरुलाई, नेपाली कांग्रेसलाई लाञ्छित गरेर उहाँले प्रश्न उठाउनुभएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकृष्ट गर्न चाहान्छौँ भनेर भनेका छौँ । सहकारीको बारेमा समिति गठन गर्ने कुरा नै भएको छ । कतिपय सहकारीबाट रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगि भएको छ । कतिपय सहकारीहरुबाट कतिपय प्राइभेट कम्पनीहरुमा गएको छ । जस्तो स्वर्णलक्ष्मी, सुप्रिम लगायतको सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा गएको छ । कुन कुन सहकारीबाट अपचलन भयो र अपचलन भएर कहाँ गयो भन्ने कुरा समेत छानविन हुनुप¥यो नि त । त्यसो भएको हुनाले यहाँ कुरा व्यक्तिको होइन, कुरा संस्थाको होइन । मुख्य मुद्दा भनेको विभिन्न सहकारीबाट अपचलन भएको जुन छ, कहाँ, कुन सहकारीबाट गयो ? कहाँ गयो भन्ने जुन मुद्दा उठेको छ । गृहमन्त्रीजीको नाम पनि त्यहाँ जोडिइराखेको छ । उहाँको संलग्नता देखिइराखेको छ भन्ने विषयलाई नै सम्बोधन गर्ने सवाल हो । त्यो विषय सम्बोधन गर्नुप¥यो । कुन भाषा, शैलीमा गर्ने भन्ने कुरा त बसेर भाषा मिलाउँदा हुने भयो ।’
उहाँले कुनै व्यक्ति र संस्थाको विषय भन्दापनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानविन हुनेकुरा मुख्य भएको भन्दै भाषा र शैली मिलाउन सकिने धारणा राख्नुभयो । —न्युज एजेन्सी नेपाल