राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताउनुभएको छ ।
नक्सालमा शुक्रवार भएको नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेफ) को १९औं वार्षिक साधारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्यसचिव खेलको विशुद्ध प्राविधिक तालिमका आधारमा मात्र पदक प्राप्त गर्न नसकिने प्रष्ट पार्नुभएको हो । उहाँले विद्यालयस्तरमा खेल विषय समावेश गर्नसके मात्र नेपाली खेलकुदले सफलता प्राप्त गर्न सम्भव हुने औंल्याउनु भयो । साथै उहाँले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
खेलकुद पत्रकारिता खेलकुद विकासको अहं पाटो रहेको उल्लेख गर्दै सदस्यसचिव घिसिङले पत्रकारहरुले सबै खेलका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारिताको आयाम फेरिरहेको र यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनुपर्ने आवश्यक पनि औंल्याउनु भयो । होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको उल्लेख गर्दै एकै जना खेलाडीले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सूचक रहेको धारणा राख्नुभयो ।
नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेलसंघले सिक्नुपर्ने बताउनु भयो । नेपालका थुप्रै खेल संघहरूले वार्षिक रूपमा साधारण सभा गर्दै आएपनि थुप्रै खेल संघहरूले आफ्नो संघलाई संस्थागत रूपमा काम नगरेको प्रति उनको संकेत थियो ।
उद्घाटनपछि भएको बन्द सत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एशियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को काँग्रेस नेपालमा आयोजना गर्न राखेको प्रस्ताव सर्वसम्मतले स्वागत गरेको थियो । बन्द सत्रमा महासचिव प्रज्वल ओलीको साँगठनिक प्रतिवेदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । —न्युज एजेन्सी नेपाल