नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको नाम फेर्न सांसदहरुको प्रश्ताव

.

सांसदहरुले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको नाम नै फेर्नुपर्नेमा संशोधन प्रश्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभाको विषयगत समितिमा आइपुगेको नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको नाम फेर्नुपर्ने भन्दै सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका हुन् । मुल विधेयकमा नाम नेपाल विश्वविद्यालय ऐन, २०७९ राख्ने उल्लेख गरिएको छ । तर सांसदहरुले नेपाल भन्ने शब्दले पूरै देशलाई समेट्ने भन्दै कुनै क्षेत्र विशेषलाई समेटेर अथवा अन्य कुनै प्रकारको नाम राख्नुपर्ने भन्दै संशोधन हालेका हुन् । सोमवारदेखि सो विधेयकमाथि दफावार छलफल प्रारम्भ भएको छ । दफाबार छलफलका क्रममा सांसदहरुले राखेको संशोधनका सम्बन्धमा छलफल भएको हो । छलफलका क्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले विश्वविद्यालयको छाता ऐन ल्याउन लागिरहेको भन्दै नेपाल भन्ने शब्द सोही छाता ऐनमा प्रयोग गर्नेगरी संरक्षित गरेर राख्नुपर्ने बताउनु भयो । नेपाल भन्ने शब्द वृहत रुपको भएको भन्दै छाता ऐनमा सो शब्द राख्दा उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले नेपाल विश्वविद्यालय ऐनको ठाउँमा नवलपरासी विश्वविद्यालय ऐन, २०८० नामाकरण गरिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘छाता विश्वविद्यालय ऐन ल्याउन पनि त हामीले सोचिरहेका छौँ । यो बनाउने प्रक्रियामा जाँदैछौँ भने हामीले यसलाई नेपाल विश्वविद्यालय ऐन भनेर नाम दिँदै गर्दा नेपाल विश्वविद्यालय भनेपछि यसले सम्पूर्ण नेपालका विश्वविद्यालयहरुलाई समेट्न सक्छ कि सक्दैन ? भोलि गएर छाता विश्वविद्यालय ऐन बनाउँदै गर्दा त्योसँग कन्फ्युजनमा आउने हो कि ? त्यो कारणले मैले यसलाई नेपाल भनेर नाम दिन योग्य छ कि छैन ? छाता विश्वविद्यालय ऐनलाई चाहीँ के नाम दिने त ? हामीसँग त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय छ भने ठाउँ केन्द्रित भनेर नाम दिँदै गर्दा यो विश्वविद्यालयमा पनि नवलपरासीमा स्थापना हुने हो भने नवलपरासी विश्वविद्यालय ऐन भनौँ न । नेपाल विश्वविद्यालय ऐन भनेर नेपाल नै नाम दिनको लागि चाहीँ अलि धेरै वृहत रुपमा हामीले छाता विश्वविद्यालय ऐनमा नेपाल भन्ने शब्द संरक्षित राख्नुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले नेपाल शब्द राख्दा सोही विश्वविद्यालय अन्तर्गत नै अन्य विश्वविद्यालयहरु हुन् कि भन्ने पर्न जाने भन्दै नाम परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले नाम परिवर्तन गरी व्यवस्था परिवर्तनका लागि जीवनको बलिदानी गर्ने शहीदहरुको सम्मान गर्नेगरी शहीद स्मृति विश्वविद्यालय नामाकरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘एउटा नीजि विश्वविद्यालय हामीले निर्माण गर्दै गर्दाखेरी यसको नाम यही विश्वविद्यालय अन्तर्गत देशैभरीका सबै विश्वविद्यालयहरु हुन् कि भन्ने जस्तो अर्थ देखिने भएको हुनाले नेपाल विश्वविद्यालय नाम परिवर्तन गरौँ भन्ने मेरो मत रहेको छ । यसको विकल्पमा मैले व्यवस्था परिवर्तनको लागि, राष्ट्र निर्माणको लागि महान शहीदहरुले बलिदान गर्नुभएको छ । उहाँहरुको सम्मान पनि हुने । त्यसैले शहीदहरुको नामबाट यसलाई नामाकरण गरौँ र शहीद स्मृति विश्वविद्यालय नाम राखौँ ।’

नेकपा(एमाले)का सांसद छविलाल विश्वकर्माले भने विधेयकको नाम परिवर्तन गर्नु नहुने धारणा राख्नुभयो । उहाँले नेपालमा अहिले पढाइ नभएको लिबरल आटर््स सम्बन्धी पढाइने गरी फरक आशयका साथ विधेयक आएको भन्दै नाममा अल्झिनु नहुने बताउनु भयो । उहाँले नाममै केन्द्रित हुनु अपm्ठ्यारो हुने भन्दै कुनै क्षेत्र विशेषको नाम राख्नु नहुने बताउनु भयो । नेपाल विश्वविद्यालय ऐन नाम नै उपयुक्त भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘नामको विषयमा त्यतातिरै फर्किएर गर्दा अरु विषयमा अप्ठ्यारोमा पर्छौं । शुरुमै पुग्नु अपm्ठ्यारो हुन्छ जस्तो लाग्यो । राष्ट्रिय रुपमा नाम बोकेको जस्तो लाग्छ कुनै क्षेत्र विशेष भन्दापनि । यसकैमा केन्द्रित भएर अगाडी बढ्नु उचित हुन्छ ।’

समिति बैठकमा दफा ४ सम्म दफावार छलफल भएको भएपनि कुनै निष्कर्ष भने निकालेको छैन । नाम लगायतको विषयमा पछि पुनः छलफल गरेर टुंग्याइने बताइएको छ । —न्युज एजेन्सी नेपाल