फोहोरमैला सम्बन्धी राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालको आयोजनामा सम्मेलन शुरु भएको हो । सोमवार ललितपुरका जावलाखेल, पुल्चोक, मंगलबजार, इटीटोल कुमारीपाटी लगायतका स्थानमा प्रभातफेरी कार्यक्रम पनि सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रमका क्रममा बोल्दै पूर्वमन्त्री गणेश साहले श्रमीकहरुले स्वच्छ रुपमा काम गर्न पाउने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरसफाईको कार्यक्रम गर्नेहरुलाई आवश्यक पर्ने मास्क, पञ्जा लगायतका सामग्रीहरु पूर्ण रुपमा उपलब्ध गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनमा लागेका कर्मचारीहरुको लागि नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ स्वास्थ्य शिविरहरुको आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोर सरसफाई कर्मचारीहरुको वृत्ति विकासमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले साना, घरेलु उद्योगतिर प्रोत्साहित गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आवश्यक नीति निर्माण गर्न दबाब दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले मजदुर, यो क्षेत्रमा काम गर्ने दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ । उहाँहरुको स्वच्छ रुपमा काम गर्नको लागि के कस्ता अवश्यकता पर्दछ, तपाईंहरुले पञ्जा लगाउने, मास्क लगाउने लगायत स्वच्छ वातावरणमा काम गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई अनुरोध गर्दछु । तपाईंहरुको नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ स्वास्थ्य शिविरहरुको आयोजना गर्नुपर्छ । तलैबाट तपाईंहरुको कसरी वृत्ति विकास गर्ने ? तपाईंहरुलाई फोहोर मैला क्षेत्रमा साना, घरेलु उद्यमीहरुको विकास गर्नेतर्फ हामी अघि बढ्नेछौँ । सहकारीमा धेरै ठगी भयो भन्ने छ अहिले । हामीले सफाई मजदुरहरुको सहकारी चलाएर एउटा उदाहरणीय काम गरेका छौँ । वृत्ति विकासतिर पनि लाग्नेछौँ । साना, घरेलु उद्योगतिर प्रोत्साहित गर्न नेपाल सरकारलाई, संघीय, प्रदेश, स्थानीय सरकारलाई नीति निर्माण बनाउनेतिर अघि बढ्नेछौँ ।’
कार्यक्रममा बोल्दै फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउने र सिंगो शहरलाई सधैँ सफा राखिरहनका लागि प्रभातफेरी गरिएको बताउनु भयो । उहाँले आम मानिसको दृष्टिकोणमा फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई हेयका दृष्टिकोणबाट हेर्ने गरिएको भन्दै सम्मेलनले यसबारेमा पनि निर्णय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले हरेक वर्ष जुन ५ को दिन विश्व वातावरण दिवस मनाउने गर्दछौँ । यो प्रभातफेरि कार्यक्रम हरेक वर्ष गर्ने गर्दछौँ । यो वर्ष हामीले फोहोरमैला सम्बन्धी राष्ट्रिय सम्मेलन पनि गर्दैछौँ । आजबाट सम्मेलन शुरुवात हुँदैछ । फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउने र सिंगो शहरलाई सधैँ सफा राखिरहने यो अभियान । सबैको सहभागितामा गरे यो दिगो हुनसक्छ । आम मानिसको दृष्टिकोण यसमा अलि सकारात्मक छैन । निश्चित समुदायले गर्ने हो भन्ने छ । यसको व्यवस्थापनमा हामी सबै लाग्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा नीतिगत कुराहरु स्पष्ट छैन । नीति नियम व्यवस्थित गरेर फोहोरमैला व्यवस्थापनको उचित व्यवस्थापन गर्ने हाम्रो उद्देश्य छ ।’
उहाँले फोहोरमैला व्यवस्थापनमा नीतिगत कुराहरु स्पष्ट नरहेकाले नीति नियम व्यवस्थित गरेर फोहोरमैला व्यवस्थापनको उचित व्यवस्थापन गर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल